बैतडी, साउन १४ । परिवार नियोजन सुन्न नचाहने बैतडीका धामीझाँक्री घर-घरमा कन्डम बाँडन थालेका छन्। झारफुकमा जाँदा उनीहरूले कन्डमसहित प्राथमिक उपचारका लागि औषधी बोक्ने गरेका छन्। पुरुषले मात्र होइन, महिला धामीले पनि संकोच नमानी कन्डम बाँड्ने गरेका स्थानीय बताउँछन्।
सन्तानलाई ‘भगवानको वरदान' ठान्ने धामीहरू परिवार नियोजनका साधन प्रयोग गर्ने व्यक्तिहरूसँग रिसाउँथे। झन् स्थायी नियोजनको कुरा त उनीहरू सुन्नै चाहँदैनथे। कन्डमलगायत नियोजनका साधन प्रयोग गर्न सिकाएर उनीहरूले जन्मदर घटाउन सहयोग पुर्याइरहेका छन्। स्थानीय समाजसेवी राधिका पन्तले भनिन्, ‘स्वास्थ्य स्वयंसेविकाको विरोध गर्ने धामीहरू नियोजनका साधन बाँड्न हिँडेको देख्दा खुसी लाग्छ।'
नेपाल परिवार नियोजन संघ बैतडी शाखाको पहलमा त्यहाँका धामीझाँक्री जनचेतनामूलक कार्यक्रममा सरिक भएका हुन्। केहीअघि गठित प्रतिष्ठित धामी समूहले गाउँमा परिवार नियोजन तथा प्रजनन स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम गरिरहेको छ।
असुरक्षित रूपमा सुत्केरी गराउँदा वर्षेनी दर्जनौं महिलाले अकालमा ज्यान गुमाइरहेका छन्। अझै पनि गाउँघरमा धामीप्रति विश्वास रहेकाले जनचेतनाका लागि उनीहरूको प्रयोग गरिएको संघका अध्यक्ष विष्णुदत्त जोशीले बताए।
बैतडीका गाउँमा बिरामी हुँदा अझै पनि अस्पताल लैजानुपहिले झाँक्री बसाउने प्रचलन छ। सुत्केरी महिलालाई समेत धामीकहाँ लैजाने परिपाटीले धेरै महिलाले ज्यान गुमाउनुपरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। जोशीले भने, ‘धामी-झाँक्रीलाई अघि सारेर जनस्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दा प्रभावकारी भएको पाइएको छ।'
स्वास्थ्यसम्बन्धी अन्धविश्वास हटाउन प्रतिष्ठित धामी समूह गठन गरिएको लाटा देवताका धामी हरिप्रसाद जोशीले बताए।
६२ गाविस र एक नगरपालिकामा गरी २ हजार धामी रहेको तथ्यांक भए समूहमा ५ सय ५० धामी आबद्ध छन्। धामीहरूले स्वयंसेवकका रूपमा प्रजनन स्वास्थ्यबारे चेतना फैलाउने काम गरेको प्रतिष्ठित धामी समूहका अध्यक्ष बलवीर बिष्टले बताए। पहिले आनाकानी गर्ने महिला धामी-झाँक्रीको सल्लाहअनुसार अस्पताल जाने गरेका छन्।











