
साउन १३, काठमाडौं । व्यवस्थापिका संसदमा आफ्नो पक्षमा बहुमत हुदाँहुदै पनि पार्टीभित्रकै नेताहरुका कारण प्रधानमन्त्री बन्न नसकेका नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले बहुमतीय सरकार बन्नै नदिने बताउनुभएको छ । यसैक्रममा खनालले बहुमतीय सरकारलाई समर्थन नगर्न आग्रह सहितको पत्र मधेसी मोर्चालाई पठाउनुभएको छ ।
खनालले बुधबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध चार वटै मधेसवादी दलहरुलाई पत्र लेखेर बहुमतीय सरकारका लागि कुनै पनि उम्मेदवारलाई मतदान नगर्न आग्रह गरेका हुन् । अध्यक्ष खनालको पत्र मधेसवादी दललाई बुझाउन पोलिटव्युरो सदस्यद्वय रामचन्द्र झा र प्रकास ज्वाला गएका थिए ।
पत्रमा खनालले एमाले अझै पनि सहमतीय सरकारका लागि दृढ भएको उल्लेख गरेका छन् । उनले सहमतीय सरकारलेमात्र शान्ति प्रक्रिया र संविधान निर्माण गर्न सक्ने बताउँदै बहुमतीय खेलमा नलाग्न आग्रह गरेका छन् ।
सहमतीय सरकार बनाउने सम्भावना क्षीण भएको भन्दै बरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओली पक्षधरले केन्द्रीय कमिटीको निर्णयमा पुर्नविचार गर्नुपर्ने बताउँदै आएका बेला खनाल बहुमतीय सरकारविरुद्ध झन् खरो उत्रिएका छन् । खनालले पठाएको पत्रप्रति आफूहरु सकारात्मक रहेको मधेसी जनअधिकार फोरमका सह-अध्यक्ष जेपी गुप्ताले प्रतिक्रिया दिए । उनले कांग्रेसले एमालेको समर्थन जुटाउने आश्वासन दिएकाले मात्र आफूहरुले सघाउन सकिने बताएको उल्लेख गरे ।











